हिमालयन लाइफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न, उत्कृष्ट शाखा प्रबन्धक सम्मानित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले पोखरास्थित द ग्राण्डमा ‘ब्रान्च म्यानेजर कन्फरेन्स’ भव्य रूपमा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ मा १०० प्रतिशत वा सोभन्दा बढी व्यवसायिक लक्ष्य हासिल गर्न सफल देशभरका शाखा प्रबन्धक तथा मार्केटिङ एक्जिक्युटिभहरूलाई कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रममा कम्पनीका चिफ बिजनेस अफिसर नवीन थापाले बजारको बदलिँदो अवस्था र ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीको व्यवसायलाई दिगो र सन्तुलित रूपमा अघि बढाउन सफल भएकोमा शाखा तथा सम्पूर्ण टिमलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि योजनाबद्ध रूपमा व्यवसाय विस्तार गर्दै उत्कृष्ट नतिजा हासिल गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कर्पोरेट हेड धिरज ठाकुरले कर्पोरेट व्यवसायले संस्थाको दीर्घकालीन व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए । उनले बजारको सम्भावना पहिचान गर्दै कर्पोरेट व्यवसायलाई थप व्यवस्थित रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
कम्पनीका चिफ बिजनेस अफिसर हरिप्रसाद ढुंगानाले नवीकरण व्यवसायमा समेत उल्लेखनीय सुधार भइरहेको बताए । नवीकरण व्यवसायलाई संस्थागत रूपमा बलियो बनाउन सबै तहबाट भइरहेको सहयोग कम्पनीको आगामी वृद्धिका लागि महत्वपूर्ण आधार बनेको उनको भनाइ थियो ।
कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत दिनेश अमात्यले लक्ष्य पूरा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने सबै कर्मचारीलाई बधाई दिए । उनले कम्पनीले अघि सारेको ‘कनेक्ट, इनोभेट एन्ड एक्सेल’ अर्थात् जोडिने, नयाँ सोच ल्याउने र उत्कृष्टता हासिल गर्ने भावनालाई आत्मसात् गर्दै अघि बढ्न सबैलाई आग्रह गरे ।
सम्मेलनमा कम्पनीका ट्रेनिङ हेड हर्कबहादुर बुढाथोकी तथा अन्तर्राष्ट्रिय मोटिभेसनल ट्रेनर सइद अब्जाद अहमद जियाउले प्रशिक्षण तथा प्रेरणादायी प्रस्तुति दिएका थिए । प्रशिक्षणले सहभागीमा सकारात्मक सोच, नेतृत्व क्षमता र व्यवसायिक दक्षता बढाउन थप ऊर्जा प्रदान गरेको कम्पनीले जनाएको छ ।
सम्मेलनमा कम्पनीका सातवटै प्रदेशका प्रदेश प्रमुख तथा उप–प्रदेश प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा उत्कृष्ट उपलब्धि हासिल गर्ने शाखा तथा कर्मचारीको सम्मानसँगै अनुभव आदान–प्रदान, नेतृत्व विकास र आगामी व्यवसायिक रणनीतिबारे समेत छलफल गरिएको थियो ।









