नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की पुनः नियुक्त

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की पुनः नियुक्त भएका छन् । भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उदयपुरका स्थायी बासिन्दा कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा १ बमोजिम कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट निवृत्त कार्की यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । उनी २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए । तर, सरकारले गत वैशाखमा यसअघिको सरकारले गरेका नियुक्ति खारेज गरेपछि उनी कोषको प्रमुखबाट पदमुक्त भएका थिए । त्यसपछि कार्कीलाई सरकारले पुनः कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
कार्कीसँग नेपाल राष्ट्र बैंकबाहेक नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेको अनुभवसमेत छ ।











