गोर्खाली पहिचान झल्काउँदै आयो रोयल इन्फिल्डको ‘गोर्खा एडिसन’, मूल्य ५ लाख ९९ हजार

काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्राइभेट लिमिटेडले क्लासिक–३५० को विशेष संस्करण ‘गोर्खा एडिसन’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली वीरता, साहस र गोर्खाली पहिचानलाई रोयल इन्फिल्डको विरासतसँग जोड्दै कम्पनीले यो विशेष संस्करण बजारमा ल्याएको हो।
राजधानीमा आयोजित एक कार्यक्रमबीच नेपाली सेनाका अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्रबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा गोर्खा एडिसनको अनावरण गरिएको हो। कम्पनीले नयाँ संस्करणमार्फत नेपाली राइडरको भावना तथा गोर्खाली पहिचानलाई मोटरसाइकलको डिजाइनमा उतार्ने प्रयास गरेको जनाएको छ।
अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले रोयल इन्फिल्डको १२५ वर्ष लामो इतिहास र नेपाली राइडरसँगको सम्बन्धलाई स्मरण गर्दै गोर्खा नाम नेपाली वीरता, साहस र अनुशासनको पहिचान भएको बताए। रोयल इन्फिल्डको विरासतसँग गोर्खाली पहिचान जोड्न पाउनु गौरवको विषय भएको उनको भनाइ छ।
कम्पनीका अनुसार गोर्खा एडिसनमा क्लासिक–३५० को मूल डिजाइन तथा यान्त्रिक संरचनामा ठूलो परिवर्तन गरिएको छैन। नियमित क्लासिक–३५० भन्दा फरक देखाउन नयाँ रङ, विशेष ग्राफिक्स र गोर्खाली पहिचान झल्काउने डिजाइन प्रयोग गरिएको छ।
गोर्खा एडिसनको प्रमुख आकर्षण सैन्य शैलीको ओलिभ ग्रीन रङ हो। सैन्य सवारीसाधनमा प्रयोग हुने रङसँग मिल्दोजुल्दो यो रङले मोटरसाइकललाई फरक तथा आकर्षक स्वरूप दिएको कम्पनीको दाबी छ। साइड प्यानलमा विशेष ग्राफिक्ससँगै क्रस्ड खुकुरीको आकृति राखिएको छ, जसले गोर्खाली पहिचानलाई थप प्रस्ट पार्छ।
बाहिरी डिजाइनतर्फ वायर–स्पोक ह्वील, राउन्ड मिरर, क्रोम एग्जस्ट र क्रोम हेडलाइटजस्ता क्लासिक–३५० का परिचित विशेषता कायम राखिएका छन्। राइडर र पछाडि बस्ने यात्रुका लागि छुट्टाछुट्टै सिट उपलब्ध छन्।
यान्त्रिक पक्षमा भने गोर्खा एडिसनमा क्लासिक–३५० मै प्रयोग हुँदै आएको ३४९ सीसीको एकल सिलिन्डर, हावा तथा तेलबाट चिस्याइने जे–सिरिज इन्जिन दिइएको छ। उक्त इन्जिनले अधिकतम २० दशमलव २ बीएचपी शक्ति तथा २७ एनएम टर्क उत्पादन गर्छ। इन्जिनलाई पाँच गतिको गियरबक्ससँग जोडिएको छ।
मोटरसाइकलमा अर्धडिजिटल उपकरण समूह दिइएको छ, जसमा एनालग स्पिडोमिटरका साथै एलसीडी डिस्प्ले उपलब्ध छ। समग्रमा गोर्खा एडिसनमा उच्च प्रदर्शनभन्दा विशेष पहिचान, क्लासिक स्वरूप र सैन्य शैलीको डिजाइनलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ।
क्लासिक–३५० गोर्खा एडिसनको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। भारतमा सार्वजनिक भएको केही समयमै यो विशेष संस्करण नेपाली बजारमा समेत उपलब्ध भएको हो।
अल्फा अटोमोटिभले नेपाली बजारमा हन्टर, क्लासिक, मिटियर, स्क्रयाम, हिमालयन तथा हालै सार्वजनिक गरिएको गुरिल्लालगायत रोयल इन्फिल्डका विभिन्न मोडल बिक्री गर्दै आएको छ। कम्पनीले मोटरसाइकल बिक्रीसँगै बिक्रीपछिको सेवा, स्पेयर पार्ट्सको उपलब्धता तथा राइडिङ समुदायलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।











