बीमालेख धितोमा झण्डै ९५ अर्ब कर्जा प्रवाह, कुन कम्पनीले कति दिए ऋण? (तथ्यांकसहित)

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूले आफ्ना बीमितहरूलाई प्रदान गर्ने कर्जा (पोलिसी लोन) को विवरण सार्वजनिक भएको छ। विवरण अनुसार यस अवधिमा कम्पनीहरूले कुल ९४ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्।
यो रकम अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ०.७७ प्रतिशतले न्यून हो। अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीहरूले कुल ९५ अर्ब ५२ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। पोलिसी लोन भनेको बीमा पोलिसीको सरेण्डर भ्यालुलाई आधार मानी बीमितले सम्बन्धित बीमा कम्पनीबाट प्राप्त गर्ने ऋण हो। यस ऋणमा कम्पनीले तोकेको दरअनुसार ब्याज लाग्छ र ब्याज पोलिसीको शर्तअनुसार भुक्तानी गर्नुपर्छ।
बीमालेख कर्जा प्रवाहमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राखेको छ। यस कम्पनीले असार मसान्तसम्म कुल ३४ अर्ब ३२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यद्यपि यो रकम अघिल्लो वर्षको तुलनामा ०.६३ प्रतिशतले कम हो। समग्र बजारमा प्रवाह भएको कुल कर्जामध्ये ३६ प्रतिशतभन्दा बढी हिस्सा नेपाल लाइफ एक्लैले ओगटेको देखिन्छ।

दोस्रो र तेस्रो स्थानमा क्रमशः एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन्। एलआईसी नेपालले २० अर्ब ६ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ जुन अघिल्लो वर्षको तुलनामा ५.८० प्रतिशतले कम हो। त्यस्तै नेशनल लाइफको कर्जा लगानीमा १२.८२ प्रतिशतको गिरावट आउँदा यस वर्ष १२ अर्ब ३३ करोड २५ लाख रुपैयाँ कायम भएको छ। हिमालयन लाइफले भने आफ्नो कर्जा प्रवाहमा ७.७२ प्रतिशतको सुधार गर्दै ८ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
अन्य मध्यम स्तरका कम्पनीहरूमा एशियन लाइफ र सूर्यज्योति लाइफको प्रदर्शन सन्तोषजनक देखिएको छ। एशियन लाइफले ५ अर्ब २४ करोड ९९ लाख रुपैयाँ र सूर्यज्योति लाइफले १०.५२ प्रतिशतको वृद्धि सहित ५ अर्ब १७ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यता सानिमा रिलायन्स लाइफले २३.३३ प्रतिशतको उच्च वृद्धिका साथ १ अर्ब ९२ करोड ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने मेट लाइफको कर्जा १ अर्ब ७५ करोड ५९ लाख रुपैयाँ कायम भएको छ।
नयाँ कम्पनीहरूमध्ये प्रभु महालक्ष्मी लाइफ र आईएमई लाइफले आक्रामक रुपमा कर्जा विस्तार गरेका छन्। प्रभु महालक्ष्मीले २३.३३ प्रतिशतको वृद्धिसहित १ अर्ब ५० करोड ७ लाख रुपैयाँ र आईएमई लाइफले ३०.४४ प्रतिशतको उच्च वृद्धि हासिल गर्दै १ अर्ब २५ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सिटिजन लाइफको बीमित कर्जा पनि २१.६८ प्रतिशतले बढेर १ अर्ब २२ करोड ८० लाख रुपैयाँ पुगेको छ। साना कम्पनीहरूमा सन नेपाल लाइफले ७७ करोड ९ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले २५.६४ प्रतिशतको वृद्धिसहित ६६ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।









