डिभाइन हेल्थकेयरले २० प्रतिशत आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

१५ भाद्र २०८३, सोमबार १३:१७

काठमाडौं । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनसम्बन्धी सम्झौतामा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । सम्झौता मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा भएको हो ।

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको जनाएको छ । सम्झौता कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको समेत उपस्थिति थियो ।

वि.सं. २०७४ सालमा स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीका अनुसार औषधि उत्पादन तथा बजारीकरणका लागि औषधि व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक दर्ता तथा स्वीकृति प्राप्त गरेको छ ।

कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । तीमध्ये विभिन्न औषधिको बजारमा उल्लेख्य बिक्री–वितरण हुँदै आएको कम्पनीको दाबी छ ।

कम्पनीले आगामी माघदेखि मिर्गौला रोगीका लागि आवश्यक केही औषधिको उत्पादनसमेत सुरु गर्ने तयारी गरेको जनाएको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको दाबी गरेको छ ।

कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाटै व्यवसाय सञ्चालन गर्दै आएको छ । देशभर कम्पनीका १२५ भन्दा बढी वितरक रहेको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*