पुँजी बजारमा भारी गिरावटः हाइड्रो र निर्जीवन बीमाबाट भाग्दै लगानीकर्ता, यी कारण छ डरै-डर!

१५ भाद्र २०८३, सोमबार १५:०७

काठमाडौँ । पछिल्ला केही महिनादेखि सुस्त गतिमा अघि बढिरहेको नेपाली शेयर बजारमा रसुवामा आएको विनाशकारी बाढीले थप दबाब सिर्जना गरेको छ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनाको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएसँगै लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो ।

बाढीबाट करिब एक हजार जनाको मृत्यु भएको र चार हजारभन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको विवरणले विपद्को गम्भीरता झल्काएको छ । विशेषगरी रसुवा र आसपासका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको समाचार सार्वजनिक भएपछि आयोजना सञ्चालन, विद्युत् उत्पादन, निर्माण अवधि र आम्दानीमा असर पर्न सक्ने चिन्ताले लगानीकर्तालाई थप सतर्क बनाएको छ । यसको प्रत्यक्ष प्रभाव शेयर कारोबारमा देखिँदा बजार परिसूचक राताम्य बनेको छ । लामो समयदेखि अपेक्षित गतिमा सुधार आउन नसकेको बजारमा प्राकृतिक विपद्को घटनाले लगानीकर्ताको जोखिम धारणा थप नकारात्मक बनाएको देखिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीबाट सञ्चालनमा रहेका १० वटा जलविद्युत् आयोजना तथा निर्माणाधीन पाँच वटा आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । आयोजनाका विद्युत् गृह, बाँध, सुरुङ, पहुँचमार्ग, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा भएको क्षतिले तत्काल विद्युत् उत्पादन तथा निर्माण कार्य प्रभावित हुन सक्ने देखिएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणमा ठूलो अतिरिक्त खर्च लाग्न सक्ने, आयोजना सञ्चालनमा ढिलाइ हुन सक्ने र विद्युत् उत्पादन घट्दा कम्पनीको आम्दानीमा समेत असर पर्न सक्ने आकलनले जलविद्युत् कम्पनीका शेयरमा बिक्री चाप बढाएको हो ।

बाढीको असर जलविद्युत् क्षेत्रमा मात्र सीमित नरही निर्जीवन बीमा कम्पनी र म्युचुअल फण्डसम्म पुगेको छ । बाढीका कारण जलविद्युत् आयोजना, सवारीसाधन, घर तथा अन्य सम्पत्तिमा भएको क्षतिले आगामी दिनमा बीमा दाबीको संख्या र रकम उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान गरिएको छ । दाबी भुक्तानी बढ्दा निर्जीवन बीमा कम्पनीको नाफा तथा वित्तीय सूचकमा दबाब पर्न सक्ने आशंकाले यस क्षेत्रका शेयरमा समेत बिक्री चाप देखिएको छ । जलविद्युत् तथा बीमा कम्पनीमा लगानी गरेका म्युचुअल फण्डको बजारमूल्यमा समेत गिरावट आउँदा फण्ड समूह प्रभावित भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.८९ अकंले घटेर २५१३.४२ बिन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको ९३ लाख २२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज हाइड्रोपावर समूहको २.९४ प्रतिशत, निर्जीवन बीमा समूहको ५.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको २.४४ प्रतिशतले शेयर बजार घटेको हो ।

सोमबार २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २५३ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*