प्रधानमन्त्री र गृहमन्त्रीको खेलाँचीले अर्थतन्त्र थप चौपट, चाडपर्वमा सामान आयातमा समस्या

१६ भाद्र २०८३, मंगलवार १०:०२

समाचार टिप्पणी

देश, काल, परिस्थिति मात्रै होइन सामान्य राजनीति समेत नबुझेका र परराष्ट्रनीति र कुटनीतिमाथि नै इगो लिएका व्यक्तिहरुको हातमा देश पुगेपछि कसरी डुब्छ र जनता निसास्सिन्छन् भन्ने उदाहरण आजको नेपालको परिस्थितिलाई हेरे पुग्छ । रसुवागढी नाकामा आएको भीषण बाढीसँगै चीनले तातोपानी नाका पनि बन्द गर्ने निर्णय गरेको छ ।
चीनले आफ्ना नागरिकको सुरक्षा र जोखिम बढेको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।

तर चीन सरकारको उक्त निर्णय मानवीयताको आधारमा मात्रै सीमित छैन । केही समयअघि तिब्बती धर्मगुरु दलाई लामाको वार्षिकोत्सवमा जुन तमासा सरकारले देखायो त्यसको पनि धेरथोर योगदान रहेको प्रष्ट देखिन आएको छ ।

छिमेकी मित्र राष्ट्रको चासोको विषयमा अनभिज्ञ भएर वा जानाजान दलाई लामाको जुन उत्सव काठमाडौंमा गरियो त्यो नेपालको इतिहासमा एउटा गम्भीर राष्ट्रघातको रूपमा दर्ज भइसकेको छ । अब त्यसलाई सुधारेर अघि बढाउन सक्ने असल नियत नदेखिने हो भने अबका दिन अझै कठीन र चुनौतिपूर्ण बन्ने खतरा उत्तिकै छ ।

आजको विश्व, ध्रुवीकरण र सुपरपावर समेत घुँडा टेक्ने अवस्थामा पुगिसकेको छ । नेपालले भने खुलेआम चीन विरोधी गतिविधिहरु गरेर चिढ्याउने कार्य गर्दाका परिणाम हो, तातापानी नाका बन्द । हिजो चीनले तातोपानी नाकामा आउनसक्ने बाढी र जोखिमका कारण भनेर बन्द गर्ने निर्णय नेपाली पक्षलाई दिइसकेको छ ।

चीनको यस्तो निर्णयका कारण व्यवसायीहरु अब सामान कहाँबाट ल्याउने भनेर त्रसित बनेको अवस्था छ । चिनियाँ नाका हुँदै सामान आयात गर्दा लागत कम लाग्ने र छिटो ल्याउन सम्भव छ । बैकल्पिक मार्ग प्रयोग गर्दा लागत निकै बढ्ने हुन्छ भने समय पनि महिना दिनसम्म लाग्न सक्छ । नजिकिँदो चाडपर्व, वर्षा सकिने मौसममा व्यापारीहरु सामान आयात गर्न प्रक्रिया समेत पूरा गरिसकेको अवस्थामा एकाएक नाका बन्द भएको विषयले त्रसित बनाएको तातोपानी नाकाबाट सामान आयात गर्दै आएका व्यापारी राजेन्द्र कुमार श्रेष्ठ बताउँछन् ।

सरकारले कुटनीति राम्रोसँग बुझ्न सकेको भए, छिमेकको चासो राम्रोसँग सम्बोधन गरी परम्परागत रुपमा नेपालले अंगिकार गर्दै आएको एक चीन नीति अनुसार दलाई लामाको गतिविधिलाई छुट नदिएको भए शायद अहिले तातोपानी नाकामा केही जोखिम मोलेरै भएपनि चीनले खुल्ला गरिदिएर सहयोग गर्न सक्दथ्यो । परराष्ट्र नीतिमा सरकार चुक्दा अब त्यसको मूल्य जनताले चुकाउनुपर्ने भएको छ ।

रास्वपा सरकार बनेको पाँच महिना पुगिसकेको छ । आर्थिक समृद्धिको नारा बोकेको सरकारले अर्थतन्त्रलाई अलिकति पनि गति दिन सकिरहेको छैन । यस्तो अवस्थामा दशैं, तिहार जस्ता पर्वहरु अर्थतन्त्रलाई चलायमान बनाउने एउटा उत्तम उपाय हुनसक्थ्यो । तर, अहिले चिनियाँ नाकाको समस्या समाधान गर्नसक्ने कुटनीतिक ज्ञान, नैतिक बल भएका एक जना पनि व्यक्ति प्रधानमन्त्री कार्यालय र सल्लाहकार र सहयोगीहरु समेत छैनन् । दशैंमा अर्थतन्त्र उकासिने सम्भावना अब लगभग समाप्त भएको छ । अर्थात अब नयाँ शैलीको अर्थतन्त्रको विकास गर्नेबारे सोच अघि बढाउन आवश्यक हुन आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*