रसुवा-भोटेकोशी बाढीमा बेपत्तालाई संक्षिप्त कार्यविधिमार्फत बीमा रकम भुक्तानीको तयारी

४ आश्विन २०८३, आईतवार १९:३२

काठमाडौं । बीमा प्राधिकरणले रसुवा भोटेकोशीमा आएको बिनाशकारी बाढी पहिरोमा परी बेपत्ता भएकाहरुको आश्रित परिवारका सदस्य तथा हकवालाहरुलाई जीवन बीमा बापतको रकम छुट्टै संक्षिप्त कार्य विधि बनाएर दावी भुक्तानी गर्ने गराउने अन्तिम तयारीमा जुटेको छ ।

बीमा कानुन र नेपालको प्रचलित कानुन बमोजिम बेपत्ता व्यक्तिको बीमा दावी भुक्तानीमा कानुनी झन्झटहरु हुने गर्दछन् । बेपत्ता नागरिकलाई कानुन बमोजिम १२ बर्षसम्म मृत घोषित गर्न नमिल्ने अवस्था एकातिर छ भने अर्कोतिर बीमितका आश्रित परिवारहरुलाई तत्कालै बीमा दावी भुक्तानी दिनुपर्ने अवस्था छ ।

बीमा प्राधिकरण र बीमा कम्पनीका सिईओहरुले कानुनी जटिलतालाई चिर्दै तत्कालै बीमा दावी भुक्तानी दिने तयारी सुरु गरेका छन् । पटक पटक भएको छलफलहरुले अब अन्तिम निष्कर्षतिर पुगेको बीमा प्राधिकरणका एक अधिकारले बताए । नेपाल जीवन बीमक संघ र नेपाल बीमा प्राधिकरणका बीचमा रसुवा भोटेकोशी बाढीमा बेपत्ताका आश्रित परिवारलाई दावी भुक्तानी दिँदा उत्पन्न हुने कानुनी जटिलता हटाएर सरलीकृत गर्न संक्षिप्त दावी भुक्तानी कार्यविधिमार्फत सम्पन्न गर्ने बिषयमा यसअघि नै संक्षिप्त कार्यविधिमार्फत गर्ने सहमति भएको छ । बीमा ऐनमै भएको व्यवस्था अनुसार संक्षिप्त कार्यविधि बनाएर अघि बढ्न खोजिएको एक अधिकारीले बताए । जीवन बीमक संघका एक सदस्यका अनुसार संक्षिप्त भुक्तानी कार्य विधि भोटेकोशी बाढी प्रभावितका पीडितहरुमा मात्रै लागू हुने गरी तयार गरिदैछ ।

स्थानीय निकायको सिफारिस सहितका अन्य के के कागजातको आधारमा दावी भुक्तानी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहेको र अन्तिम टुंगोमा पुग्न बाँकी रहेको संघका एक अधिकारीले बीमापोष्टलाई जानकारी दिए । अहिलेको प्रचलित कार्यविधि अनुसार दावी भुक्तानी गर्न मृत्यु दर्ता प्रमाणपत्र आवश्यक हुन आउँछ । बाढीमा बेपत्ता व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाउने बारे सरकारले पनि छलफल गरिरहेको छ । सरकारले मृत्यु दर्ता गर्ने कार्यविधि र बीमा प्राधिकरणले जारी गर्ने कार्यविधि मेल खाने गरी तयार गरेपछि सरल रुपमा बाढी पीडित प्रभावितलाई दावी भुक्तानी दिन सकिन्छ ।

गत भदौं १० गते विहान ८ः४५ बजे रसुवाको भोटेकोशीमा आएको बिनाशकारी बाढीमा परी हालसम्म एक हजार ४ सय ११ जनाको शव भेटिएको तर सनाखत हुन धेरैको बाँकी रहेको अवस्था छ भने त्यसैगरी बाढीमा पाँच हजार ८७५ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

उक्त बाढी पहिरोमा जीवन बीमातर्फ कति दावी पर्छ भनेर अहिले नै एकिन गर्न सक्ने अवस्था छैन । नेपालमा जीवन बीमाको पहुँच २१ प्रतिशत हाराहारी छ । म्यादी बीमा समेत अन्य बीमा समेत गर्दा ५ देखि ७ प्रतिशतसम्म बीमा दावी पर्नसक्ने प्रारम्भिक रुपमा अनुमान गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*