प्रधानमन्त्री ३२ हजार फिट युरोप माथिको आकाशमा, स्टाटस फेसबुकमा कसरी ?

७ आश्विन २०८३, बुधबार १७:५३

काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन काठमाडौंबाट न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री बालेन्द्र शाहसहितको टोली यतिबेला युरोपमाथिको आकाशमा उडिरहेको छ । कतार एयरको बोईङ ७७७ अत्याधुनिक जहाजमा ३२ हजार फिटमाथिको आकाशमा उडिरहेकै बेला बालेन शाहको फेसबुकमा स्टाटस अपडेट भएको छ । बालेनले आफ्नो फेसबुकमा शुक्रबारदेखि पर्ने भिषण पानी र सम्भावित बाढीबाट जोगिन सबैलाई सचेत गराएका छन् ।

बंगलाका खाडीमा उठिरहेको साईक्लोन जिरोवानबी नामक आँधी अघि बढ्ने क्रममा छ । दुई दिनपछि नेपालमा ठूलो पानी पर्ने र बाढीको जोखिम उत्तिकै छ । यही समयमा आम जनतालाई सचेत पार्दै जोखिम न्यूनिकरणका लागि प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट आह्वान गरेका हुन् ।

तर आकाशमा उडिरहेको बेला स्टाटस अपडेट गर्न कसरी सम्भव भयो त ? प्रधानमन्त्री कार्यालयकी प्रेस संयोजक दीपा दाहालले यसबारे केही नबताउने जानकारी दिईन । प्रधानमन्त्रीको सचिवालयले फेसबुकमा स्टाटस अपडेट गरेको हो वा प्रधानमन्त्री आफैले आकाशबाटै स्टाटस अपडेट गरेको सम्बन्धमा कुनै स्पष्ट भइसकेको छैन ।

जहाजमा उडिरहेको बेला आकाशमै बसेर इन्टरनेट चलाउन तथा फेसबुक अपडेट गर्न सजिलै सकिन्छ । कतार एयरले जुनसुकै यात्रुहरुलाई (नेपालबाट कतारसम्म छैन, कतारबाट युरोप अमेरिकासहितका विकसित देशमा सुविधा छ) अनबोर्डमै अर्थात आकाशमा इन्टरनेट चलाउन मात्रै नभई भिडियो कल, अडियो कल सुविधा समेत उपलब्ध गराउँदै आएको छ । कतार एयरको यो सुविधा धेरै नेपालीहरुले उपभोग गर्दै आएका छन् ।

प्रधानमन्त्रीले आकाशबाटै नेपालमा आउन लागेको सम्भावित बर्षा तथा त्यसबाट हुनसक्ने बाढीबारे आम जनतालाई सचेत गराएका छन् । नेपालका लागि यो नौलो अभ्यास हो । आकाशमै उडिरहेको बेला समेत कार्यालयको काम डिजिटल रुपमा गर्न सकिन्छ । बिजनेश क्लासको टिकट भएकाहरुले असीमित रुपमा यसैगरी काम गर्न सक्दछन् । प्रधानमन्त्रीले बुधबार आफ्नो निजि फेसबुक पेजमा लेखेको स्टाटस समेत आकाशबाटै राखेको रुपमा बुझ्न सकिन्छ ।

फेसबुकमा स्टाटस अपडेट हुँदाका बखत प्रधानमन्त्री चढेको कतार एयरको बोईङ ७७७ जहाज स्लोभाकियामाथिको आकाशमा ३२ हजार फिटको उचाईमा प्रतिघण्टा ८५० किमीको गतिमा कुदिरहेको थियो । उनले स्टाटस अपडेट गर्दा न्यूयोर्कमा अवतरण हुन अझै करिब आठ घण्टा बाँकी थियो । यो समाचार तयार पर्दा प्रधानमन्त्री चढेको जहाज डेनमार्क माथिको आकाशमा उडिरहेको छ । कतारबाट न्यूयोर्कसम्मको हवाई दुरी १३ घण्टा ४५ मिनेट हाराहारीको हुने गर्दछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*