वर्षाले देशभर निम्त्यायो संकट : राजमार्ग ठप्प-पहिरो र बाढीको जोखिम, कहाँ के हुँदैछ ?

९ आश्विन २०८३, शुक्रबार १०:४०

काठमाडौँ । देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहँदा निरन्तर वर्षा भइरहेको छ । हिजो बिहिबारदेखि परेको निरन्तर वर्षा अहिले समेत जारी रहेको हो । बङ्गालको खाडीमा विकसित बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासमा रहेको र उक्त प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने तथा त्यसपछि उत्तर–उत्तर पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिममा आंशिक बदली छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भूभाग, कर्णालीका पहाडी भूभागका अधिकांश स्थान तथा मधेसका केही स्थान र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ ।

कुन कुन राजमार्ग भए अवरुद्ध ?

निरन्तर वर्षाका कारण देशभरको सडक यातायात प्रभावित बनेको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण धादिङस्थित कृष्णभीरमा फेरि पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार राति सडकमाथिबाट ठूला ढुङ्गा र चट्टानसहित पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो । यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो । पहिरो गएको स्थानभन्दा माथि करिब २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज १ गतेदेखि मात्रै सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । तर पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यता, काभ्रेपलाञ्चोकतर्फ पनि वर्षाले सडक यातायात अस्तव्यस्त बनाएको छ । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित चारसयबेँसी र रोशी–८ गिम्दीमा बिहान करिब ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गिम्दीमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्गमा आवागमन ठप्प भएको हो ।

जल तथा मौसम विभागको प्रक्षेपणलाई मध्यनजर गर्दै बिहीबारदेखि रातको समयमा बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक सडकखण्डमा सवारी आवागमन बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको अवस्था हेरेर दिउँसो पनि सडक बन्द गर्न सक्ने जनाएको छ। हाललाई आइतबारसम्म रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

रोशी खोलाको जलसतहसमेत सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेपछि तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । पनौतीस्थित रोशी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले नदी आसपास तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

उता, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड पनि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेको र थप जोखिमसमेत रहेको भन्दै सडक बन्द गरिएको हो । बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको थियो। तर वर्षा निरन्तर भइरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो ।

हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा समेत वर्षाका कारण आवागमन प्रभावित भएको छ । कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि हेटौँडाबाट उक्त मार्ग हुँदै सञ्चालन हुने यातायात सेवा प्रभावित बनेको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरतर्फ तीन स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। हेटौँडा–काठमाडौँ जोड्ने छोटो तथा लामो दूरीका अधिकांश सडकखण्डमा पहिरोको जोखिम बढेपछि सवारी आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । महेन्द्र राजमार्ग र कान्ति लोकपथमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न थालिएको छ । बीपी राजमार्ग र कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ती सडकतर्फ सवारीसाधन जान रोक लगाएको छ । हाल दक्षिणकाली–फाखेल सडकखण्ड हुँदै मकवानपुरतर्फ सवारीसाधन पठाइएको छ । मकवानपुरको पालुङ हुँदै त्रिभुवन राजपथबाट चल्ने सवारीसाधनलाई एकतर्फी सञ्चालन गरिएको छ ।

उपत्यकाका खोला नदि रिसाउँदै

निरन्तर वर्षासँगै काठमाडौँ उपत्यकाभित्रका नदीको जलसतहसमेत बढ्न थालेको छ । बागमती, विष्णुमती, मनोहरा र गोदावरीलगायत नदीको जलसतह बढेपछि नदी किनारका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

बागमती नदी किनारमा नेपाली सेना र नेपाल प्रहरी परिचालन भएका छन् । प्रहरीले साइरन बजाउनुका साथै माइकिङ गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा नजान स्थानीयलाई सचेत गराइरहेको छ । च्यासल, शंखमुल र बागमती दोभान क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । नेपाली सेनाले समेत नदी किनारको करिडोरमा निरन्तर सवारी गस्ती गरिरहेको छ ।

वर्षाका कारण सडक यातायातसँगै हवाई सेवा पनि प्रभावित भएको छ । निरन्तर वर्षा र धुम्म वातावरणका कारण भिजिबिलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना छ। निरन्तर वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम बढेको तथा प्रमुख राजमार्गहरूमा यातायात प्रभावित भएकाले यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा जारी रहेकाले सडक तथा नदी आसपासको अवस्था जुनसुकै बेला थप जोखिमपूर्ण बन्न सक्ने भएकाले अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न र सम्बन्धित निकायले जारी गर्ने सूचना तथा सुरक्षा निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*