पोखरामा स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनभित्र प्रतिवेदन बुझाउने

२३ आश्विन २०८३, शुक्रबार १३:३६

काठमाडौं । पोखरामा पाँच जनाको मृत्यु हुने गरी आज बिहान भएको स्कुल बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ।

आज बिहान पोखरा महानगरपालिका–२८ माझठानाबाट विद्यार्थी बोकेर कालिका बोर्डिङ स्कुलतर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस पोखरा–२८ को ओख्लेमा सडकबाट करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा विद्यार्थी, चालक तथा स्थानीयसहित २२ जना सवार रहेकोमा ५ जनाको मृत्यु र १४ घाइते भएका थिए।

दुर्घटनापछि पोखरा महानगरका मेयर धनराज आचार्यले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित छानबिन समिति गठन गर्ने निर्णय गरेका हुन्।

महानगरले गठन गरेको समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी छन् भने सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई छन्।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश तोकिएको छ। दुर्घटनाको वस्तुस्थिति पहिचान गर्नुका साथै विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र यस्ता दुर्घटना रोक्न अपनाउनुपर्ने उपायबारे सुझाव दिन पनि समितिलाई कार्यादेश तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*