सेबोनको पाइपलाइनमा ७० अर्बभन्दा बढीको आईपीओ, १११ कम्पनी स्वीकृतिको पर्खाइमा

२३ आश्विन २०८३, शुक्रबार १५:५१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न क्षेत्रका १११ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिका लागि आवेदन दिएका छन् । बोर्डको विवरणअनुसार ती कम्पनीले कुल ४९ करोड ५ लाख ५२० कित्ता शेयर निष्कासन गर्न अनुमति मागेका छन्। प्रस्तावित शेयरको कुल रकम ७० अर्ब ६४ करोड ९८ लाख रुपैयाँभन्दा बढी छ ।

सेबोनको पाइपलाइनमा रहेका कम्पनीहरूको क्षेत्रगत विवरणले उत्पादन तथा प्रशोधन र जलविद्युत् क्षेत्रमा सबैभन्दा ठूलो उपस्थिति देखाएको छ । कम्पनी संख्याका आधारमा जलविद्युत् क्षेत्र अगाडि रहे पनि प्रस्तावित रकमका आधारमा उत्पादन तथा प्रशोधन क्षेत्र पहिलो स्थानमा छ। होटल तथा पर्यटन, लगानी, लघुबीमा र अन्य क्षेत्रका कम्पनीहरूले पनि सर्वसाधारणबाट पुँजी जुटाउनका लागि आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका छन् ।

उत्पादन तथा प्रशोधन क्षेत्रका ३२ कम्पनीले १७ करोड ४१ लाख ९१ हजार ३०३ कित्ता शेयर निष्कासन गर्न अनुमति मागेका छन्। यस क्षेत्रको कुल प्रस्तावित रकम ३५ अर्ब ७१ करोड ४ लाख रुपैयाँभन्दा बढी छ । बोर्डको पाइपलाइनमा रहेका कुल प्रस्तावित रकमको ठूलो हिस्सा यही क्षेत्रले ओगटेको छ । सिमेन्ट, स्टिल, औषधि तथा अन्य औद्योगिक उत्पादनसँग सम्बन्धित कम्पनीहरू यस समूहमा छन् । यी कम्पनीले व्यवसाय विस्तार, उत्पादन क्षमता वृद्धि तथा लगानीका लागि आवश्यक पुँजी जुटाउने उद्देश्यले आईपीओ निष्कासन गर्न लागेका हुन् ।

यता जलविद्युत् क्षेत्रका ३४ कम्पनीले १६ करोड ८३ लाख ७६ हजार २३६ कित्ता शेयर निष्कासनका लागि आवेदन दिएका छन् । यी कम्पनीले कुल १७ अर्ब १९ करोड २३ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्काशन गर्न लागेका छन् । आयोजना निर्माण, विद्युत् उत्पादन क्षमता विस्तार तथा वित्तीय दायित्व व्यवस्थापनका लागि जलविद्युत् कम्पनीहरूलाई ठूलो पुँजी आवश्यक पर्ने भएकाले यस क्षेत्रमा आईपीओमार्फत रकम जुटाउने आकर्षण देखिएको छ ।

त्यस्तै होटल तथा पर्यटन क्षेत्रका १८ कम्पनीले ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता शेयर निष्कासन गर्न अनुमति मागेका छन् । यस क्षेत्रले ६ अर्ब ४५ करोड १३ लाख रुपैयाँभन्दा बढीको आईपीओ ल्याउन लागेको हो । होटल, रिसोर्ट, केबलकार तथा पर्यटनसँग सम्बन्धित व्यवसायहरूले पूर्वाधार विस्तार र व्यावसायिक गतिविधि बढाउन सर्वसाधारणबाट पुँजी जुटाउने उद्देश्यले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाएका हुन् ।

त्यस्तै अन्य क्षेत्रका १५ कम्पनीले ५ करोड ९ लाख १५ हजार ३८९ कित्ता शेयर निष्कासन गर्न आवेदन दिएका छन्। यस समूहको प्रस्तावित रकम ६ अर्ब १३ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ । स्वास्थ्य सेवा, सञ्चार, हवाई सेवा, सौर्य ऊर्जा तथा अन्य विविध व्यवसायसँग सम्बन्धित कम्पनीहरू यस समूहमा पर्छन् ।

त्यसैगरी लगानी क्षेत्रका नौ कम्पनीले ३ करोड २० लाख ५३ हजार ६६२ कित्ता शेयर निष्कासनका लागि अनुमति मागेका छन्। यस क्षेत्रले ४ अर्ब ४८ करोड १३ लाख रुपैयाँभन्दा बढीको आईपीओ निष्काशन गर्न लागेको छ । यता लघुबीमा क्षेत्रका तीन कम्पनीले भने कुल ६७ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेका छन् । यी कम्पनीहरूले कुल ६७ करोड ५० लाख रुपैयाँको आईपीओ ल्याउन लागेका हुन् ।

बोर्डले कम्पनीका वित्तीय विवरण, आवश्यक कागजात, कानुनी मापदण्ड तथा अन्य नियामकीय प्रक्रिया पूरा भए–नभएको जाँच गरेपछि मात्रै आईपीओ निष्काशनका लागि स्वीकृति दिने गर्छ । केही कम्पनीहरूको आईपीओ तीन वर्षभन्दा लामो समयदेखि पाइपलाइनमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*