ताप्लेजुङ स्वास्थ्य कार्यालयका निमित्त प्रमुखको सर्टिफिकेट नक्कली

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त प्रमुख सुमन प्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तिवारीले खोप सुपरभाइजर पदमा नियुक्ति लिन भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको आईए तहको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उक्त प्रमाणपत्रकै आधारमा नियुक्ति लिएका उनले पछि माथिल्लो तहका विभिन्न पदमा बढुवा हुनसमेत पटक–पटक सोही प्रमाणपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। यसरी उनले नक्कली प्रमाणपत्रले राष्ट्रसेवकको पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको ठहर छ।
तिवारी स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृतसमेत हुन्। उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवाना सजायको माग गर्दै मुद्दा चलाइएको आयोगले जनाएको छ।











