पृथ्वी राजमार्ग आज राति ६ घण्टा बन्द हुने
२६ आश्विन २०८३, सोमबार १४:३१

काठमाडौँ । काठमाडौँ आवतजावत गर्ने पृथ्वी राजमार्ग आज राति ६ घण्टाका लागि बन्द हुने भएको छ। धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै सडक मर्मतसम्भारका लागि उक्त अवधिमा राजमार्ग बन्द रहने जानकारी दिएको छ।
त्रिशूली नदीले सडक कटान गर्दा गलौँदीमा सडक भासिएपछि गत शुक्रबार साँझदेखि आइतबार दिउँसोसम्म पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। सडकको करिब सय मिटर भाग चर्किनुका साथै २० मिटर खण्ड भासिएपछि दुई दिनसम्म यस खण्डमा सवारीसाधन सञ्चालन हुन सकेका थिएनन्।











