बरुण हाइड्रोपावरको साधारण सभा कात्तिक २० गते, हकप्रद शेयर पारित मुख्य एजेण्डा

२७ आश्विन २०८३, मंगलवार १०:०५

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीलाई बोनस शेयर र नगद लाभांश वितरण गर्नुका साथै शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्तावसहितका विभिन्न एजेन्डा पारित गर्न कम्पनीले कात्तिक २० गते २३औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीका अनुसार सभा काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे सुरु हुनेछ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। दुवै प्रस्ताव पारित भएमा शेयरधनीले कुल ५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।

त्यसैगरी, बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। यस व्यवस्थाअनुसार बोनस वितरणपछिको चुक्ता पूँजी बराबरकै रकमको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले अघि बढाएको हो।

सभाले संस्थापक शेयरधनीका तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना गरी चार जना सञ्चालक निर्वाचित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावमाथि पनि निर्णय हुनेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले कात्तिक ११ गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*