दशैं–तिहारमा बन्दीपुर हिलले आयोजना गर्दै ‘बन्दीपुर फेस्ट’

काठमाडौँ । दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। महोत्सवमा स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति, साहसिक गतिविधि तथा परिवारका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिने कम्पनीले जनाएको छ।
बन्दीपुर केवलकारको लोअर स्टेसनमा आयोजना हुने महोत्सव दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवअन्तर्गत नौ दिन फुड फेस्टिभल आयोजना गरिनेछ।
महोत्सवमा स्थानीय परिकारको स्वाद लिनुका साथै रमाइला खेल, सांस्कृतिक कार्यक्रम तथा बालबालिकाका लागि विशेष गतिविधिमा सहभागी हुन सकिनेछ। बालबालिकालाई लक्षित गरी किड्स जोनसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। त्यस्तै, बन्दीपुर केवलकार, जिपलाइन र स्काई साइकलिङलगायतका गतिविधिमार्फत आगन्तुकले साहसिक मनोरञ्जनको अनुभव लिन सक्नेछन्।
दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपन वितरण गर्ने योजना बनाएको छ। यसबाट राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा परिवारलाई बन्दीपुरसम्म आकर्षित गर्ने लक्ष्य राखिएको छ।
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको बताए। उनका अनुसार बन्दीपुर फेस्टले यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्थानीय स्वाद र साहसिक गतिविधिसँग जोडिने अवसर प्रदान गर्नेछ।
कार्यक्रम संयोजक सुरज राईले महोत्सव सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने जानकारी दिए। उनका अनुसार स्थानीय बासिन्दादेखि बाहिरबाट आउने पर्यटकसम्मलाई उत्सवमय वातावरणमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य, सांस्कृतिक अनुभव, साहसिक गतिविधि तथा आधुनिक सुविधालाई एकै स्थानमा समेटेको बन्दीपुरहिलमा केवलकार, फाइन डाइनिङ रेस्टुरेन्टलगायतका सुविधा उपलब्ध छन्। ‘बन्दीपुर फेस्ट’मार्फत दशैं–तिहारको समयमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै बन्दीपुरलाई पारिवारिक घुमघामको आकर्षक गन्तव्यका रूपमा चिनाउने अपेक्षा गरिएको छ।











