काठमाडौँ महानगर प्रहरीका ८ इन्स्पेक्टरसहित १६ जनाले दिए राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । पछिल्लो एक साताभित्र महानगर प्रहरी बलका जुनियर तथा सिनियर तहका अधिकृतहरूले राजीनामा बुझाएका हुन् ।
लामो समयदेखि एउटै पदमा रहेर काम गर्नुपरेको र वृत्ति विकासको अवसर नपाएको असन्तुष्टिका कारण उनीहरूले जागिर छाड्ने निर्णय लिएको बताइएको छ । राजीनामा दिनेमा आठ जना प्रहरी निरीक्षक, पाँच जना प्रहरी नायब निरीक्षक र तीन जना प्रहरी सहायक निरीक्षक रहेका छन् ।
महानगर प्रहरी बलका अनुसार राजीनामा बुझाउने सबै अधिकृतको सेवा अवधि ३० वर्षभन्दा कम छ भने उनीहरू ५५ वर्षको उमेर हदसमेत पार गरेका छैनन् । अर्थात्, सेवामा निरन्तरता दिन सक्ने उमेर र अनुभव भएका अधिकृतहरूले नै पद त्याग्ने निर्णय गरेका हुन् ।
नगर प्रहरीमा लामो समयसम्म पदोन्नति नहुँदा र जिम्मेवारीअनुसारको वृत्ति विकासको बाटो स्पष्ट नहुँदा अनुभवी जनशक्तिमा असन्तुष्टि बढेको देखिन्छ । सम्बन्धित निकायमा वृत्ति विकासको विषयमा छलफल भइरहे पनि राजीनामा दिने अधिकृतहरू भने सेवामा थप समय बिताउन इच्छुक नदेखिएको बताइएको छ ।











