नेपाल–भारत उडानमा पावर बैंक बोक्न पूर्ण प्रतिबन्ध

काठमाडौँ । नेपाल एयरलाइन्सले नेपाल र भारतबीच सञ्चालन हुने उडानमा MOBIKINS MK-PB-04 मोडलको पावर बैंक बोक्न प्रतिबन्ध लगाएको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) को सर्कुलरअनुसार उक्त मोडलको पावर बैंक भारतभित्र, भारतबाट वा भारततर्फ सञ्चालन हुने सबै उडानमा पूर्ण रूपमा प्रतिबन्धित गरिएको एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सका अनुसार उक्त मोडलको पावर बैंक यात्रुले क्याबिन, ह्यान्ड ब्याग, चेक–इन ब्यागेज वा कार्गोमध्ये कुनै पनि माध्यमबाट बोक्न पाउने छैनन्।
केही दिनअघि भारतको राजधानी दिल्लीबाट चेन्नईका लागि उडेको इन्डिगोको विमानमा यात्रुको ह्यान्ड क्यारीमा रहेको पावर बैंक विस्फोट हुँदा आगलागी भएको थियो। उक्त घटनापछि विमानलाई भारतको हैदराबाद विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो।
पावर बैंक विस्फोट र आगलागीको घटनापछि हवाई सुरक्षालाई ध्यानमा राख्दै सम्बन्धित निकायले उक्त मोडलको पावर बैंकमा प्रतिबन्ध लगाएको हो।











