लगातार ६ दिनसम्म हरियाली पुँजी बजारः फाइनान्समा चमक, यी छन् बढ्ने आधार !

२९ आश्विन २०८३, बिहीबार १५:०५

काठमाडौँ । लगातार ६ कारोबार दिन शेयर बजारमा सुधार देखिएको छ । दशैंको खर्च व्यवस्थापन गर्न यसअघि शेयर बिक्री गरेका लगानीकर्ताहरू पुनः बजारमा सक्रिय हुन थालेका छन् । तर, अहिले शेयर बिक्री गर्दा दशैंअघि नै रकम प्राप्त हुने सम्भावना कम भएकाले लगानीकर्ताले कारोबार गर्नुअघि समय र आवश्यकतालाई ध्यान दिनुपर्ने देखिएको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा देखिएको सामान्य उतारचढावले लगानीकर्ताको निर्णयमा समेत प्रभाव पार्न सक्नेछ ।

लामो समयदेखि अपेक्षाअनुसार गति लिन नसकेको शेयर बजारमा सुधार ल्याउन नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले विभिन्न नीतिगत व्यवस्था परिमार्जन गरेका थिए । ती सुधारको प्रभाव तत्काल बजारमा देखिन नसके पनि पछिल्लो समय बजारमा सकारात्मक संकेत देखिन थालेका छन् । लगातारको वृद्धिले लगानीकर्तामा केही आशा जगाएको छ । बजारमा आएको यो सुधारले आगामी दिनमा कारोबारको गतिविधि बढाउन र लगानीकर्ताको विश्वास फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बजारको पछिल्लो अवस्थालाई हेर्दा केही जानकारहरूले शेयर खरिदका लागि सम्भावना खोज्न सकिने बताएका छन् । मूल्यहरू तुलनात्मक रूपमा तल्लो स्तरमा रहेको र नीतिगत सुधारको प्रक्रिया अघि बढेकाले दशैंपछि बजारले गति लिन सक्ने उनीहरूको आकलन छ । दशैंअघि शेयर कारोबारका लागि अब दुई दिन मात्र बाँकी रहेकाले लगानीकर्ताहरू आगामी बजारको अवस्थाबारे चासो राखिरहेका छन् । यद्यपि, बजार बढ्ने अपेक्षाकै आधारमा हतारमा लगानी गर्नुको सट्टा कम्पनीको वित्तीय अवस्था, शेयर मूल्य र आफ्नो जोखिम वहन गर्ने क्षमताको मूल्याङ्कन गर्नु आवश्यक छ ।

शेयर बजारमा सुधारका संकेत देखिए पनि चुनौतीहरू पूर्ण रूपमा हटिसकेका छैनन् । ठूला लगानीकर्ताको लगानीको स्रोतबारे उठेका प्रश्न, बाढीपहिरोका कारण भएको क्षति तथा जलविद्युत् आयोजनामा परेको असरले बजारको मनोविज्ञानमा दबाब पार्न सक्छन् । त्यसैगरी, शेयर बिक्री गर्नुअघि जानकारी गराउनुपर्ने व्यवस्थासम्बन्धी विषयले पनि लगानीकर्ताको ध्यान तानेको छ । आगामी दिनमा खरिद मागमा वृद्धि, नीतिगत स्थिरता र लगानीकर्ताको विश्वासमा सुधार आउन सके बजारले दिगो रूपमा सकारात्मक दिशा लिन सक्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५६ अकंले बढेर २६२५.८२ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड ७० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ४ उपसूचक घटेका छन् भने ९ उपसूचकमा हरियाली देखिएको छ । फाइनान्स समूहको शेयर मूल्य १.०३ प्रतिशतले बढेको हो ।

बिहिबार १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*