निर्यात ६२ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ३ खर्ब २४ अर्बमाथि

२९ आश्विन २०८३, बिहीबार १५:१२

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै बढेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार भदौ मसान्तसम्म कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

तर आयातको आकार ठूलो रहेकाले व्यापार घाटा भने २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। निर्यातको तुलनामा आयात निकै बढी रहेकाले व्यापार घाटा निरन्तर बढिरहेको हो ।

निर्याततर्फ भारतमा ७०.६ प्रतिशत, चीनमा १३७.६ प्रतिशत र अन्य मुलुकमा २२.७ प्रतिशतले वृद्धि भएको छ। भटमासको तेल, पोलिस्टर धागो, पाम तेल, जिङ्क सिट र पार्टिकल बोर्डको निर्यात बढेको छ। तर आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागजका सामग्री र जडीबुटीको निर्यात घटेको छ।

त्यस्तै आयाततर्फ भारतबाट २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थ, रासायनिक मल, काँचो भटमासको तेल, खानेतेल, यातायातका साधन तथा तिनका पार्टपुर्जाको आयात बढेको छ। यस अवधिमा सुन, धान तथा चामल, हवाइजहाजका पार्टपुर्जा, पोलिथिन ग्रान्युअल्स र मेडिकल सामग्रीको आयात भने घटेको छ।

आयातको तुलनामा निर्यातको वृद्धिदर उच्च रहेपछि निर्यात–आयात अनुपातमा सुधार आएको छ। अघिल्लो वर्षको सोही अवधिमा १५.५ प्रतिशत रहेको यस्तो अनुपात बढेर १९.१ प्रतिशत पुगेको छ। यद्यपि कुल निर्यातमा अन्तिम उपभोग्य वस्तुको हिस्सा ७१.१ प्रतिशत रहेको छ भने आयातमा औद्योगिक कच्चा पदार्थ तथा मध्यवर्ती वस्तुको हिस्सा ५१.९ प्रतिशत र अन्तिम उपभोग्य वस्तुको हिस्सा ३९.४ प्रतिशत छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*