झुटो उजुरी दिने दीपक पुनमगरलाई अख्तियारद्वारा दुई हजार रुपैयाँ जरिवाना

काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेको भन्दै झुटो उजुरी दिने रुकुम पश्चिमका एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना गरेको छ।
आयोगले अरूको नाम र हस्ताक्षर दुरुपयोग गरी बदनियतपूर्वक झुटो उजुरी दिएको पुष्टि भएपछि आठबिसकोट नगरपालिका–५ का दीपक पुनमगरलाई दुई हजार रुपैयाँ जरिवाना गरेको हो।
पुनमगरले सहकारीबाट ऋण लिएका एक डीआईजीले मुद्दा मिलाइदिने भन्दै १५ लाख रुपैयाँ नगद र २५ लाख रुपैयाँ आफ्नी कान्छी श्रीमतीका नाममा चेक लिएर धम्क्याएको आरोपसहित अख्तियारमा उजुरी दर्ता गराएका थिए। उक्त उजुरी आङबाबु राईको नामबाट दर्ता गरिएको थियो।
तर, अनुसन्धानका क्रममा उजुरीकर्ता भनिएका आङबाबु राईले आफूले कुनै उजुरी नदिएको र उजुरीमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको भन्दै सनाखत गरेका थिए।
थप अनुसन्धानका क्रममा पुनमगरले आङबाबु राईको जानकारी र सहमतिबिना नै उनको नाम तथा हस्ताक्षर प्रयोग गरेर उजुरी दर्ता गराएको बयान दिएका थिए।











