शुभ लक्ष्मी कोषको आकार ३ अर्ब रुपैयाँ पुर्याउन सेबोनको स्वीकृति

काठमाडौँ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा सञ्चालन गर्दै आएको खुलामुखी म्युचुअल फन्ड योजना ‘शुभ लक्ष्मी कोष’को आकार बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कोषको अधिकृत आकार १ अर्ब रुपैयाँबाट बढाएर ३ अर्ब रुपैयाँ कायम गर्न स्वीकृति दिएको हो। कम्पनीका अनुसार बोर्डबाट असोज १९ गते उक्त स्वीकृति प्राप्त भएको हो।
शुभ लक्ष्मी कोषको आकार २०८२ कात्तिक २५ गतेसम्म ५० करोड रुपैयाँ रहेको थियो। त्यसपछि १ अर्ब रुपैयाँसम्म विस्तारका लागि धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएकोमा एक वर्षको अवधिमै सो रकम करिब पूर्ण रूपमा इकाइधनीबाट संकलन तथा बाँडफाँट गर्न कम्पनी सफल भएको जनाएको छ।
कोषको आकार ३ अर्ब रुपैयाँ पुगेपछि थप लगानीकर्तालाई योजनामा सहभागी गराउन सहज हुने कम्पनीको अपेक्षा छ।
यसैबीच शुभ लक्ष्मी कोषले इकाइधनीका लागि सिस्टमेटिक विथड्रअल प्लान सुविधा पनि सञ्चालनमा ल्याएको छ।
यो सुविधामार्फत इकाइधनीले आफ्नो लगानीबाट निश्चित समय अन्तरालमा आवश्यक रकम योजनाबद्ध तथा नियमित रूपमा झिक्न सक्नेछन्। विशेषगरी लगानीबाट नियमित आम्दानी लिन चाहने तथा आफ्नो लगानीलाई व्यवस्थित रूपमा उपयोग गर्न चाहने लगानीकर्ताका लागि एसडब्ल्यूपी उपयोगी हुने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नियमित रूपमा लगानी गर्न चाहनेका लागि सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान र आवश्यकता अनुसार योजनाबद्ध रूपमा रकम निकाल्न चाहनेका लागि एसडब्लुपि दुवै सुविधा उपलब्ध भएसँगै शुभ लक्ष्मी कोषलाई दीर्घकालीन तथा व्यवस्थित लगानी विकल्पका रूपमा विस्तार गर्ने लक्ष्य लिइएको छ।











