दसैँ मनाउन गाउँ फर्किने बढे, पाँच दिनमै तीन लाख ४८ हजार यात्रु उपत्यकाबाहिर

काठमाडौँ । बडादसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाबाट आफ्नो गृहजिल्ला फर्किने यात्रुको सङ्ख्या बढ्दै गएको छ । अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएका मानिस चाडपर्व मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहलपहल बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार घटस्थापनादेखि असोज २९ गते बिहानसम्म तीन लाख ४८ हजार ३१४ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । दसैँ मनाउन घर जानेको चाप बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको सङ्ख्या बढेको छ ।
प्रहरीका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ जना यात्रु राजधानीबाट बाहिरिएका थिए । उपत्यकाबाट बाहिरिने यात्रुले फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका प्रयोग गरिरहेका छन् ।
यसैबीच, दसैँका लागि हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले अग्रिम बस टिकट बुकिङ गराएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७, असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रिम टिकट लिएका छन् ।











