शेयर बजारमा जीवन बीमा कम्पनीको लगानी साढे ४४ अर्ब, हिमालयन लाइफ सबैभन्दा अगाडि

काठमाडौँ । जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी उल्लेख्य रुपमा बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ को अन्त्यसम्ममा जीवन बीमा कम्पनीले ४४ अर्ब ४८ करोड ५९ लाख ६० हजार रुपैयाँ लगानी गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी गरेको रकम अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को तुलनामा ४५.७५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ३० अर्ब ५२ करोड २८ लाख रुपैयाँ लगानी गरेका थिए ।
यस अवधिसम्ममा हिमालयन लाइफले शेयर बजारमा सबैभन्दा धेरै लगानी गरेको छ । गत आर्थिक वर्षसम्ममा हिमालयन लाइफले शेयर बजारमा १० अर्ब १० करोड ४१ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१।०८२ को सोहि अवधिको तुलनामा भने ६.९६ प्रतिशतले कम हो ।
हिमालयनपछि दोस्रो धेरै रकम शेयर बजारमा लगानी गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म शेयर बजारमा ६ अर्ब ५० करोड ८८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको शेयर बजारमा लगानी ४ अर्ब १२ लाख रुपैयाँ मात्रै रहेको थियो ।
त्यसैगरी गत आर्थिक वर्षमा सूर्यज्योति लाइफले शेयर बजारको लगानी ७७ प्रतिशतले बढेर ५ अर्ब १८ करोड, नेशनल लाइफको १५५ प्रतिशतले बढेर ३ अर्ब ४३ करोड, एलआईसी नेपालको ४४ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड, आइएमई लाइफको १४५ प्रतिशतले बढेर ३ अर्ब ५८ करोड, रिलायबल नेपाल लाइफको १०२ प्रतिशतले बढेर २ अर्ब ९७ करोड, सानिमा रिलायन्सको १०२ प्रतिशतले बढेर २ अर्ब ९७ करोड, प्रभु महालक्ष्मी लाइफको ११४ प्रतिशतले बढेर २ अर्ब ४६ करोड पुगेको छ ।
समिक्षा अवधिमा सिटिजन्स लाइफले शेयर बजारमा १ अर्ब ७६ करोड, सन नेपाल लाइफको १ अर्ब ४९ करोड र राष्ट्रिय जीवन बीमाको २ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।











