बुढीगण्डकी बाढी प्रभावित परिवारलाई मासिक १५ हजार राहत, थप सदस्य भए प्रतिव्यक्ति २ हजार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढी तथा भारी वर्षाका कारण प्रभावित गोरखा, धादिङ र बागलुङका तोकिएका स्थानीय तहका घर क्षति भएका परिवारले मासिक १५ हजार रुपैयाँसम्म अस्थायी आवास तथा जीविकोपार्जन राहत पाउने भएका छन्।
आज बसेको मन्त्रिपरिषद् बैठकले विपद्बाट प्रभावित परिवारलाई अस्थायी आवास तथा जीविकोपार्जनका लागि यस्तो राहत उपलब्ध गराउने निर्णय गरेको हो। निर्णयअनुसार होल्डिङ सेन्टरमा नबसी निजी आवासमा अस्थायी रूपमा बस्न चाहने परिवारले वैकल्पिक आवासको व्यवस्था नहुँदासम्म बढीमा ६ महिनासम्म राहत पाउनेछन्।
चार जनासम्म सदस्य भएको परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछ। परिवारमा चार जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना थप दुई हजार रुपैयाँ उपलब्ध गराइनेछ।
यो राहत गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ तथा बागलुङका गलकोट र ढोरपाटन नगरपालिकाका प्रभावित परिवारका लागि हो। गत असोज ८ देखि ११ गतेसम्म बुढीगण्डकी नदीमा आएको बाढी तथा भारी वर्षाबाट बढी प्रभावित यी स्थानीय तहलाई मन्त्रिपरिषद्ले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्रसमेत घोषणा गरेको छ।











