चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को समेत प्रभाव रहने भएकाले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।
कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ। मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा वर्षा हुन सक्नेछ। त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ। बाँकी भूभागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। यी प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्नेछ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
शुक्रबार देशभर अधिकांश बादल लाग्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ।
यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











