तनहुँका विकास आयोजनालाई ७१८ हेक्टरभन्दा बढी वन क्षेत्र प्रयोग गर्न अनुमति

१२ कार्तिक २०८३, बिहीबार ०७:२४

काठमाडौं । तनहुँमा सञ्चालनमा रहेका तथा निर्माणका विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति पाएका छन्।

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्ट तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको हो।

वन क्षेत्र प्रयोग गर्ने आयोजनामध्ये तनहुँ जलविद्युत् आयोजना, ४०० केभी विद्युत् प्रसारण लाइन, तनहुँ हाइड्रोपावरको २२० केभी प्रसारण लाइन तथा अन्य प्रसारण लाइन आयोजना रहेका छन्।

वन क्षेत्र प्रयोग गरेबापत सम्बन्धित आयोजना तथा निकायले प्रचलित कानुनी व्यवस्था र तोकिएका सर्तअनुसार राजस्व बुझाउनुपर्ने, जग्गा सट्टाभर्ना गर्नुपर्ने तथा क्षतिपूर्तिस्वरूप वृक्षारोपण गर्नुपर्ने व्यवस्था रहेको छ।

आयोजनाअनुसार वन क्षेत्र प्रयोग तथा क्षतिपूर्ति व्यवस्थापनको अवस्था फरक–फरक रहेको कार्यालयले जनाएको छ। केही आयोजनाले जग्गा सट्टाभर्ना गरी क्षतिपूर्तिस्वरूप वृक्षारोपण गरिरहेका छन् भने केहीले वार्षिक कबुलियती दस्तुर तथा राजस्व बुझाउँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*