चक्रवात अर्णवको जोखिमः कात्तिक १६ गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह

१२ कार्तिक २०८३, बिहीबार १२:१६

काठमाडौं । चक्रवात अर्णवको सम्भावित प्रभावका कारण नेपालका प्रमुख नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले विशेष पूर्वसूचना जारी गरेको छ। महाशाखाले कात्तिक १२ देखि १६ गतेसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाको पूर्वानुमानअनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुन सक्ने र त्यसले नदीको जलसतह बढाउन सक्नेछ।

कात्तिक १२ र १३ गते विशेषगरी पहाडी तथा चुरे क्षेत्रका साना नदी र खोलामा आकस्मिक बाढी तथा डुबानको जोखिम रहने अनुमान छ। कात्तिक १३ गते नारायणी, कोशी, बागमती, कमला र कन्काई नदीका जलाधारमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ।

कात्तिक १४ गते पनि केही नदी जलाधारमा वर्षा जारी रहन सक्नेछ। कात्तिक १५ गते केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहे पनि कात्तिक १६ गतेसम्म प्रमुख नदीको जलसतह सामान्य अवस्थामा फर्किने अनुमान गरिएको छ। कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिमसमेत रहन सक्नेछ।

ठूला नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुग्ने सम्भावना कम देखिए पनि वर्षाको वास्तविक मात्रा अनुसार जोखिम परिवर्तन हुन सक्ने महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाले नदी तथा खोला किनार, जोखिमयुक्त सडक र नदी उपत्यकामा यात्रा गर्दा सतर्क रहन तथा पानीको बहाव बढेका बेला खोला नतर्न आग्रह गरेको छ। हिमाली क्षेत्रमा यात्रा गर्नेहरूले पनि मौसम र जोखिमसम्बन्धी सूचनामा विशेष ध्यान दिन महाशाखाले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*