आठ पटक म्याद थपिएको केरौन सबस्टेसन निर्माण सम्पन्न, चार्जिङको चरणमा

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२/३३ केभी केरौन सबस्टेसन तथा सम्बन्धित ३३ केभी सब–ट्रान्समिसन लाइन निर्माण सम्पन्न भएको छ। निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो सम्पन्न भएको आयोजना अहिले चार्जिङको चरणमा पुगेको छ।
आयोजना निर्माणका लागि १० नोभेम्बर २०२१ मा ठेक्का सम्झौता भएको थियो। १० नोभेम्बर २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्धारित समयमा काम पूरा हुन सकेको थिएन। निर्माणमा भएको ढिलाइका कारण आयोजनाको म्याद आठ पटक थपिएको थियो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले करिब दुई महिनाअघि कोशी प्रदेशको निरीक्षणका क्रममा आयोजनाको निर्माणलाई तीव्रता दिन आवश्यक सहजीकरण र निर्देशन दिएको बताए। त्यसपछि निर्माण कार्यले गति लिँदै आयोजना सञ्चालनको चरणसम्म पुगेको मन्त्री श्रेष्ठले बताएका छन्।
कुल १४८.५ एमभिए क्षमता रहेको सबस्टेसनमा ६३ एमभिएका दुईवटा १३२/३३ केभी ट्रान्सफर्मर र २२.५ एमभिएको एउटा ३३/११ केभी ट्रान्सफर्मर जडान गरिएको छ। दुहवी–दमक १३२ केभी प्रसारण लाइनसँग जोडिएको यस सबस्टेसनमा पाँचवटा ११ केभी फिडरसमेत रहेका छन्। त्यस्तै केरौन–रङ्गेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको छ।











