बाढी प्रभावितको पुनर्निर्माणका लागि नेपालले ३ अर्ब रुपैयाँ सहयोग पाउने

१३ कार्तिक २०८३, शुक्रबार १३:५३

काठमाडौं । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि नेपालले करिब ३ अर्ब रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय सहयोग पाउने भएको छ।

जलवायु परिवर्तनका कारण हुने क्षतिसँग सम्बन्धित हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।

मन्त्री चौधरी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का फ्रान्सेली प्रतिनिधि जुलियन चेभिलार्डबीच भएको भेटवार्तामा उक्त सहयोग प्राप्त गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक पहलका विषयमा छलफल भएको थियो।

सचिवालयका अनुसार भेटमा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा पनि छलफल भएको छ। विशेषगरी बाढी प्रभावित समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि थप स्रोत जुटाउने विषयमा कुराकानी केन्द्रित थियो।

त्यसैगरी आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने तथा सम्मेलनमा नेपालको प्याभिलियन व्यवस्थापनका लागि सहयोग जुटाउने विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*