भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माण नयाँ ढाँचामा गरिने

काठमाडौं । रसुवामा आएको बाढीपछि भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माण सुरक्षित बस्ती, बलियो पूर्वाधार र दिगो जीविकोपार्जनलाई केन्द्रमा राखेर अघि बढाउने विषयमा अन्तर्राष्ट्रिय स्तरमा छलफल भएको छ। यसका लागि नेपालले पुरानै संरचना पुनःनिर्माण गर्नेभन्दा पनि भविष्यका विपद् जोखिमलाई ध्यानमा राखेर नयाँ ढाँचा अपनाउने तयारी गरेको छ।
थाइल्याण्डको बैंककमा बिहीबार आयोजित ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक कार्यशालामा नेपाली अधिकारीहरूले यस्तो धारणा राखेका हुन्। नेपाली राजदूतावास बैंकक र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा नेपालको विपद्पछिको पुनस्र्थापना र पुनर्निर्माणका विषयमा छलफल भएको थियो।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढीपछि सुरक्षित र जोखिम कम भएका स्थानको पहिचान गरी पुनर्निर्माण अघि बढाउने तयारी भइरहेको जानकारी दिए। उनले हिमाली क्षेत्रमा भविष्यमा आउन सक्ने विपद्को विश्लेषण, सुरक्षित स्थानमा स्थानान्तरण तथा विस्थापित समुदायको सांस्कृतिक पहिचान र भावनाको सम्मानलाई पुनस्र्थापनाको प्राथमिकतामा राखिएको बताए।
कार्यशालामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती र विपद् थेग्न सक्ने पूर्वाधार निर्माणसँग जोड्नुपर्नेमा जोड दिए। जलविद्युत् आयोजना सुरक्षित राख्ने र स्थानीय समुदायको जीविकोपार्जनलाई दिगो बनाउने गरी पुनर्निर्माण गर्नुपर्ने उनको धारणा थियो।











