केवाईसी अद्यावधिक गर्न सिटिजन लाइफको आग्रह, अनलाइनबाटै सुविधा

१६ कार्तिक २०८३, सोमबार ०८:२७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना विद्यमान बीमित ग्राहकलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार ग्राहकको पहिचान विवरण अद्यावधिक गरी राख्नुपर्ने भएकाले कम्पनीले यस्तो आग्रह गरेको हो ।

कम्पनीका अनुसार बीमितले अनलाइन तथा भौतिक माध्यमबाट केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन् । अनलाइन माध्यमबाट अद्यावधिक गर्न चाहने ग्राहकले कम्पनीको वेबसाइटबाट केवाईसी फाराम डाउनलोड गरी आवश्यक विवरण भर्नुपर्नेछ । फारामसँग हालसालै खिचिएको पासपोर्ट आकारको फोटो र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि संलग्न गरी [email protected] मा इमेल वा ९८४७३८६८१३ नम्बरको ह्वाट्सएपमार्फत पठाउन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, भौतिक माध्यमबाट केवाईसी अद्यावधिक गर्न चाहने ग्राहकले राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट आकारको फोटोसहित नजिकको शाखा वा उपशाखा कार्यालयमा उपस्थित भएर फाराम बुझाउन सक्नेछन् । ग्राहकले आफ्नो अभिकर्तामार्फत पनि फाराम भरेर बुझाउन सक्ने व्यवस्था रहेको छ ।

कम्पनीले केवाईसी विवरण अद्यावधिक गरेपछि बीमा दाबी भुक्तानी, बीमालेख ऋण तथा अन्य बीमासम्बन्धी सेवा छिटो, छरितो र सरल रूपमा प्राप्त गर्न सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*