नबिल बैंकको नगद लाभांश वितरण सुरु, नलिएका शेयरधनीलाई लिन आग्रह

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ। बैंकले लाभांश प्राप्त गर्न बाँकी रहेका शेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गरी आफ्नो लाभांश लिन आग्रह गरेको छ।
बैंकको २०८३ असोज २२ गते सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १०।८० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। यससँगै बैंकले कुल १५।८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार साधारणसभाबाट पारित नगद लाभांश वितरण सुरु भइसकेको भए पनि केही शेयरधनीको बैंक खाता विवरण अद्यावधिक नभएको, हितग्राही खातामा बैंक खाता नजोडिएको तथा शेयर अभौतिकीकरण नभएका कारण लाभांश भुक्तानी हुन सकेको छैन।
त्यस्तै, शेयर धितोमा राखेका तथा अन्य प्राविधिक कारणले लाभांश प्राप्त गर्न नसकेका शेयरधनीलाई आवश्यक प्रक्रिया पूरा गर्न बैंकले आग्रह गरेको छ।
लाभांश प्राप्त गर्न बाँकी शेयरधनीले आफ्नो शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता विवरण अद्यावधिक गर्नुपर्नेछ। यसका लागि बैंकको शेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
यसैगरी, साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बंगलादेश बैंक लिमिटेडका शेयरधनीले हालसम्म दाबी नगरेको नगद लाभांशसमेत सम्बन्धित शेयरधनी वा हकवालालाई आवश्यक प्रमाणसहित सम्पर्क गरी बुझिलिन बैंकले अनुरोध गरेको छ।











