आम्दानी बढ्दा पनि १६ प्रतिशतले घट्यो युनिलिभर नेपालको नाफा

१९ कार्तिक २०८३, बिहीबार ०७:५८

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा १६ प्रतिशतले घटेको छ। कम्पनीले असोज मसान्तसम्म २५ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ३० करोड रुपैयाँ थियो।

गत वर्षको तुलनामा कम्पनीको खुद नाफा ४ करोड ७७ लाख रुपैयाँले घटेको हो। नाफामा गिरावट आए पनि कम्पनीको सञ्चालन आम्दानी भने बढेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ थियो। यसअनुसार कम्पनीको सञ्चालन आम्दानी १२ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २ करोड ६ लाख रुपैयाँ रहेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ करोड ६२ लाख रुपैयाँ थियो।

आम्दानी बढे पनि खर्चमा भएको वृद्धिले कम्पनीको नाफामा दबाब परेको देखिन्छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको कच्चा पदार्थ उपभोग खर्च १ अर्ब ३० करोड २० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च १ अर्ब ७ करोड १ लाख रुपैयाँ थियो।

त्यस्तै, कर्मचारी खर्च १८ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कर्मचारी खर्च १७ करोड ५८ लाख रुपैयाँ थियो। कम्पनीको अन्य खर्च पनि बढेर ३४ करोड १३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो खर्च ३२ करोड २१ लाख रुपैयाँ थियो।

कम्पनीको कुल खर्च चालु आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ९२ करोड २९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल खर्च १ अर्ब ६६ करोड १ लाख रुपैयाँ थियो।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित नाफा ५ अर्ब २७ करोड ५६ लाख रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*