रिलायन्स स्पिनिङ मिल्सको नाफा ३४२ प्रतिशतले बढ्यो, अधिकांश वित्तीय सूचकमा सुधार

२० कार्तिक २०८३, शुक्रबार ०८:११

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३० करोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८८ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा ३४२.६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २० करोड २९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब २८.८ प्रतिशतले बढेको हो।

कम्पनीको कुल नाफा पनि उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड ६२ लाख ७९ हजार रुपैयाँ रहेको कुल नाफा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ५६ करोड १६ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

त्यस्तै, कम्पनीको सञ्चालन नाफा १६ करोड ९१ लाख ५१ हजार रुपैयाँबाट बढेर ४० करोड ५७ लाख १५ हजार रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने घटेको छ। गत वर्षको सोही अवधिमा ८ करोड ७२ लाख ३५ हजार रुपैयाँ रहेको वित्तीय खर्च समीक्षा अवधिमा घटेर ४ करोड ३८ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ।

कम्पनीको करअघिको नाफा ३६ करोड १८ लाख ४२ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ८ करोड १९ लाख १६ हजार रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा कम्पनीले ५ करोड ६९ लाख ८२ हजार रुपैयाँ आयकर खर्च छुट्याएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ६३ रुपैयाँ ९७ पैसा रहेको छभने प्रतिसेयर नेटवर्थ ४८९ रुपैयाँ ५३ पैसा रहेको छ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सम्पत्ति १४ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*