बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्मको क्षति

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको निर्माणकार्य बाढीका कारण एक महिनादेखि प्रभावित भएको छ। गत असोज ११ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीले आयोजनाका विभिन्न संरचना तथा निर्माण उपकरणमा क्षति पुर्याएपछि काम रोकिएको हो।
बाढीबाट आयोजनामा करिब १८ देखि २० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। बाढीले सुकेबगरस्थित आयोजनाको बाँधमा बनाइएको डाइभर्सन संरचना भत्काउनुका साथै निर्माणस्थलमा ढुङ्गा, माटो र गेग्रान थुपारेको छ। त्यस्तै, नागढुङ्गा र रातोपानी क्षेत्रमा रहेका आवास भवन तथा श्रमिक बस्ने क्याम्पसमेत बगाएको छ।
बाढीका कारण आयोजनाको बाँध, सुरुङ निर्माणस्थल, आवास भवन, मेसिनरी तथा निर्माण उपकरणमा क्षति पुगेको छ। निर्माण सामग्री, डिजेल भण्डारण ट्याङ्की र वर्कसपमा समेत क्षति पुगेपछि आयोजनाको निर्माण प्रक्रिया प्रभावित बनेको हो।
क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरेर तिहारलगत्तै आयोजनाको निर्माणकार्य पुनः सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ। विसं २०८१ देखि निर्माण सुरु भएको आयोजनालाई २०८५ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको कुल लागत १२ अर्ब ९३ करोड रुपैयाँ अनुमान गरिएको छ। लगानी संरचनाअनुसार ६ वटा वाणिज्य बैंकले कुल लागतको ७५ प्रतिशत रकम लगानी गर्नेछन् भने बाँकी २५ प्रतिशत रकम प्रवर्द्धक कम्पनी तथा सेयर लगानीकर्ताबाट जुटाइनेछ।
हाइड्रो सपोर्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाबाट उत्पादन हुने विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने योजना छ। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) समेत गरिसकेको छ।
सम्झौताअनुसार आयोजनाले उत्पादन गर्ने विद्युत् हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा बिक्री गर्नेछ। बाढीबाट भएको क्षति मर्मत तथा पुनर्निर्माणपछि निर्धारित समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य प्रवर्द्धकले राखेको छ।











