पेशागत बीमा अभिकर्ता संघद्वारा बीमा प्राधिकरणका अध्यक्षलाई बधाई, नियमावलीका असन्तुष्टि सम्बोधन गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन बिक्रम थापालाई पेशागत बीमा अभिकर्ता संघ नेपाल केन्द्रीय समितिको प्रतिनिधिमण्डलले भेटवार्ता गर्दै बधाई तथा शुभकामना दिएको छ ।
भेटवार्ताका क्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल, केन्द्रीय समतिका अध्यक्ष ओम केसीले हालको नियमावलीका केही प्रावधानहरुले बीमा पेशामा अभिकर्तालाई टिक्न गाह्रो बनाएको भन्दै त्यसलाई सच्याउनु पर्ने माग राखेका छन् । यसका लागि तिहारपछि पुनः छलफल गरिने उनले जानकारी दिए ।
उनले भेटवार्ताका क्रममा नियमावलीमा भएका असहमतिलाई उठाइएको र त्यसमा नवनियुक्त अध्यक्षले सकारात्मक धारणा राखेको भन्दै आफ्ना मागहरु सम्बोधन हुनेमा आशावादी रहेको बताएका छन् । ‘अहिले शुभकामना मात्रै दिन गएका हौं त्यसक्रममा संक्षिप्त कुराकानी भयो । हामीले उठाएका मागहरुप्रति सकारात्मक धारणा राख्नुभएको छ। हामी आशावादी छौं ।’ उनले बीमापोष्टसँग भने ।
भेटवार्तामा बीमा व्यवसायलाई थप व्यवसायिक र मर्यादित बनाउने विषयमा पनि छलफल भएको केसीले जानकारी दिएका छन् । वर्तमान अवस्थामा बीमा क्षेत्रले सामना गरिरहेको चुनौतीहरुलाई समाधान गर्दै बीमा क्षेत्रका अवसर, बीमाको पहुँच तथा दायरा विस्तार, बीमाप्रति जनविश्वास अभिवृद्धि गर्ने, बीमा साक्षरताको प्रवद्र्धन गर्दै बीमा बजारलाई तीव्रता दिने लगायतका विषयमा छलफल भएको छ।











