बीमा क्षेत्रका विकृति हटाउने नवनियुक्त अध्यक्ष थापाको उद्घोष, ‘तीन महिनापछि कामको हिसाब दिन्छौँ’

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले बीमा क्षेत्रका विद्यमान समस्या र चुनौती समाधान गर्दै बलियो तथा विश्वसनीय बीमा क्षेत्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष थापाले आगामी दिनमा बीमा क्षेत्रका अप्ठ्यारा फुकाउने र चुनौतीहरूको समाधान गर्दै क्षेत्रलाई थप सुदृढ बनाउने आफ्नो जिम्मेवारी रहेको बताए । “म कार्यकारी भुमिकामा रहेको भएपनि यहाँहरू सबैको साथ र सहयोग पाएमा बीमा क्षेत्रलाई थप बलियो बनाउन सकिन्छ भन्ने विश्वास छ,” उनले भने ।
उनले नेपाली सर्वसाधारणमा अझै पनि बीमासम्बन्धी पर्याप्त जनचेतना र बीमाका विभिन्न योजनाबारे उचित जानकारी पुग्न नसकेको उल्लेख गरे । “बीमाबारे आम सर्वसाधारणमा अझै पर्याप्त जनचेतना छैन । बीमाका विभिन्न मोडल र योजनाबारे पनि राम्रोसँग जानकारी पुग्न सकेको छैन । त्यसैले यो क्षेत्रलाई बलियो बनाउनुपर्ने आवश्यकता छ,” उनले भने ।
अध्यक्ष थापाले तत्कालै ठूला प्रतिबद्धता गर्नुभन्दा काम गरेर परिणाम देखाउने आफ्नो योजना रहेको स्पष्ट पारे । “अहिले हामी कुनै प्रतिबद्धता गर्दैनौँ । तीन महिना काम गर्छौं र त्यसपछि हामीले गरेको कामको प्रगति विवरण तथा आगामी योजनाबारे जानकारी गराउँछौँ,” उनले भने ।
उनले बीमा बजारमा रहेका विकृति, विसङ्गति तथा गलत अभ्यासबारे जानकारी गराउन सरोकारवालासँग आग्रहसमेत गरे । “बीमा बजारमा भइसकेका विकृति, विसङ्गति वा कुनै गलत कार्य छन् भने हामीलाई जानकारी गराउनुहोला,” उनले भने ।
सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट थापालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।











