तिहारको पहिलो दिन आज कागको पूजा गरी काग तिहार मनाइँदै

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने यस पर्वलाई यमपञ्चकका रूपमा समेत चिनिन्छ ।
यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइँदैछ । यस दिन कागलाई यमराजको दूत तथा शुभ–अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ । बिहानै कागलाई पूजा गरी विभिन्न परिकार तथा मीठा खानेकुरा खान दिने चलन रहेको छ । धार्मिक मान्यताअनुसार कागलाई खाना नदिई आफूले भोजन गरे पाप लाग्ने विश्वास गरिन्छ ।
पौराणिक कथनअनुसार यमपञ्चकका पाँच दिन यमराजले आफ्ना नियमित काम स्थगित गरी बहिनी यमुनाको घरमा अतिथिका रूपमा समय बिताउने र भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वको नाम यमपञ्चक रहन गएको हो ।
तिहार सुरु भएसँगै आजदेखि यमदीपदान गर्ने परम्परा पनि रहेको छ । यमदीपदान गर्दा दक्षिण दिशातर्फ फर्काएर दीप प्रज्वलन गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् । धार्मिक विश्वासअनुसार यमदीपदान गर्नाले यम यातनाबाट मुक्ति मिल्ने मान्यता छ ।
तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयामा भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने परम्परा छ । यसरी पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरु र भाइटीकाको विशेष महत्त्व रहने गर्दछ ।











