बीमा प्राधिकरणका अध्यक्ष थापाद्वारा तिहारको शुभकामना, सुधारका सुझाव दिन आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन विक्रम थापाले तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष थापाले शुभकामना सन्देश जारी गर्दै बीमा, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित सरोकारवाला, बीमित, बीमक, बीमा अभिकर्ता, बीमा सर्भेयर, बीमा मध्यस्थकर्ता तथा सम्पूर्ण कर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।
उनले तिहारले घरआँगन मात्र नभई सबैको जीवनमा नयाँ आशा र सकारात्मक ऊर्जा सञ्चार गरोस् भन्ने कामना गरेका छन्। साथै, दीपावलीले माया, सद्भाव, भाइचारा र पारिवारिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
गत २०८३ जेठमा खुला आवेदन माग गरी अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्बाट बीमा ऐन, २०७९ को प्रावधानबमोजिम आफू अध्यक्षमा नियुक्त भएको उनले बताएका छन्।
केन्द्रीय बैंकमा विभिन्न तह र जिम्मेवारीमा रही करिब ३० वर्ष नियमित सेवा गरेको अनुभवसहित आफूलाई नेपाल सरकारले नयाँ जिम्मेवारी दिएको भन्दै उनले छनोट समिति, नेपाल सरकार, अर्थ मन्त्रालय तथा मन्त्रिपरिषद्लगायत सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
अध्यक्ष थापाले बीमा क्षेत्रका विद्यमान समस्या, अपेक्षा तथा सुधारका विषयमा सरोकारवालालाई आफ्ना सुझाव र धारणा प्राधिकरणको आधिकारिक इमेल वा केन्द्रीय कार्यालयमा लिखित रूपमा उपलब्ध गराउन आग्रह गरेका छन्।
बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरोकारवालाबाट प्राप्त सुझाव तथा सहकार्य महत्वपूर्ण हुने उनको सन्देश छ।
अन्त्यमा उनले तिहार, नेपाल संवत् र छठ पर्वले सबैमा सुख, शान्ति, समृद्धि तथा सकारात्मक ऊर्जा प्रदान गरोस् भन्दै पुनः शुभकामना व्यक्त गरेका छन्।











