हिम पर्वत हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ ,।
कम्पनीको आईपीओमा अब स्थानिय बासिन्दाहरुले मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै जुनसुकै समयमा पनि सूचना प्रकाशित गरी निष्काशन तथा बिक्री बन्द गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १६ करोड ९० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १६ लाख ९० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोमध्ये १० लाख १४ हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं। ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं। २, ३ र ४ का स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी रहेको ६ लाख ७६ हजार कित्ता ती दुबै गाउँपालिकाका अन्य वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।











