चन्द्रागिरी हिल्स घाटाबाट नाफामा फर्कियो, तीन महिनामै कमायो २ करोड ८३ लाख

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किन सफल भएको छ। कम्पनीले असोज मसान्तसम्म २ करोड ८३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ करोड २४ लाख ३१ हजार रुपैयाँ घाटामा थियो।
कम्पनीको सञ्चालन आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८७ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा ३७.४२ प्रतिशतले बढेर १९ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल नाफा २२.९० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ कायम भएको छ।
कम्पनीका अनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा भएको वृद्धिले पर्यटकीय गतिविधि विस्तार हुनुका साथै आम्दानी र नाफामा सुधार आएको हो। पर्यटकको सङ्ख्या बढेसँगै कम्पनीको व्यावसायिक गतिविधिमा सकारात्मक प्रभाव परेको देखिन्छ।
नाफामा सुधार आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ऋणात्मक अवस्थाबाट बढेर १ रुपैयाँ ७६ पैसा पुगेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ऋणात्मक ८१ पैसा थियो।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै रिजर्भ तथा सरप्लस १४.३९ प्रतिशतले बढेर ११ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति १०.४६ प्रतिशतले वृद्धि भई ४ अर्ब १४ करोड रुपैयाँ कायम भएको छ। कम्पनीको दीर्घकालीन ऋणसमेत ६.७५ प्रतिशतले बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।











