आज भाइटीका, उत्तम साइत ११ः०७ बजे

काठमाडौं । नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुले आज भाइटीका भव्य रुपमा मनाउदैछन् । तिहार अन्तर्गतको आज अन्तिम दिन भाइटीका पर्व आज दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुलाई सप्तरंगी टीका लगाएर हर्षोल्लासपूर्वक मनाउँदैछन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज विहान ११ः०७ बजे उत्तम साइत रहेको जनाएको छ ।
नेपालभित्र उत्तम साइतमा टीका लगाइन्छ भने नेपाल बाहिर समयबेला अन्तर अनुसारको साइतमा टीका लगाइन्छ । यद्यपि आज विहानैदेखि दिनभर टीकाको साइत उत्तम रहेको छ ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै कहिल्यै नसुक्ने दुवोले तेलको धाराले छेकेर सप्तरङ्गी टीका लगाइदिने चलन छ । दैलाको ठेलामा ओखर, बिमिरो सहित राखेर पुजा आजा गरी दिदी बहिनीहरुले भाइको पुजा गर्ने गर्दछन् । दिदी बहिनीहरुले दाजुभाइलाई मिष्ठान्न भोजन खुवाउछन् भने दाजुभाइहरुले पनि दिदी बहिनीहरुलाई टीका लगाएर दक्षिणा दिने गर्दछन् ।
यस वर्ष टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।











