सानिमा रिलायन्स लाइफको खुद बीमाशुल्क २ अर्ब १९ करोड, जीवन बीमा कोष २८.५३ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै जीवन बीमा कोष, खुद आर्जित बीमाशुल्क र कुल आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार जीवन बीमा कोष २८.५३ प्रतिशतले वृद्धि भई २६ अर्ब ८३ करोड ३१ लाख ९३ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष २० अर्ब ८७ करोड ७१ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क २३.१२ प्रतिशतले बढेर २ अर्ब १९ करोड ४२ लाख १५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब ७८ करोड २१ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानीमा पनि सकारात्मक वृद्धि देखिएको छ । समीक्षा अवधिमा कुल आम्दानी १८.०४ प्रतिशतले बढेर २ अर्ब ६५ करोड ५८ लाख ७० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २४ करोड ९९ लाख ९६ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।

यसैगरी, कम्पनीको जगेडा तथा सञ्चित आम्दानीमा समेत उल्लेख्य सुधार भएको छ । रिटेन्ड अर्निङ ६८.४५ प्रतिशतले वृद्धि भई ६० करोड ६२ लाख २४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा यस्तो रकम ३५ करोड ९८ लाख ८३ हजार रुपैयाँ थियो । त्यस्तै, विपत्ति जगेडा कोष १४.८६ प्रतिशतले बढेर २१ करोड ३५ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा उक्त कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको खुद नाफामा पनि सामान्य वृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १५ करोड २ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ करोड ९६ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ०.४० प्रतिशतले बढेको हो ।
यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ११ रुपैयाँ ९३ पैसाबाट बढेर ११ रुपैयाँ ९८ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २१ पैसा कायम भएको छ ।











