हिम पर्वत हाइड्रोपावरको स्थानीय शेयर निष्कासन आजदेखि बन्द हुँदै, मागभन्दा बढी आवेदन

१ मंसिर २०८३, मंगलवार ०९:४१

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आज मंसिर १ गतेदेखि बन्द हुने भएको छ। कम्पनीले माग गरेभन्दा बढी शेयर खरिदका लागि आवेदन प्राप्त भएपछि आजै शेयर निष्कासन बन्द गर्न लागेको हो।

कम्पनीले गत कात्तिक ११ गतेदेखि दोलखा जिल्लाका आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ९० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो। कम्पनीले आज मंगलबार बैंकिङ समयपछि आवेदन लिने कार्य बन्द गर्ने जनाएको छ।

कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। यसको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमध्ये १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।

स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख १४ हजार कित्ता अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ। यसमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर २, ३ र ४ का स्थानीय बासिन्दा समेटिएका छन्।

त्यस्तै बाँकी ४० प्रतिशत अर्थात् ६ लाख ७६ हजार कित्ता शेयर उल्लेखित वडाबाहेक बिगु र कालिञ्चोक गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यस शेयरमा आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। यसमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*