वर्षदिनमा आत्महत्या गर्नेको संख्या कोशी प्रदेशमा १५७९, कर्णालीमा सबैभन्दा कम ३०५

काठमाडौं । नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ । मानसिक स्वास्थ्य, आर्थिक समस्या, सम्बन्ध तथा पारिवारिक समस्या र जीवनका कठिन अनुभवका कारण नेपालमा प्रतिदिन औसत १९.५६ जनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा देशभर ७ हजार १४० जनाले आत्महत्या गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा देशभर ६ हजार ८६६ जनाले आत्महत्या गरेका थिए । यसरी एक वर्षको अवधिमै आत्महत्या गर्नेको संख्या ३.९९ प्रतिशत अर्थात् २७४ जनाले वृद्धि भएको हो । आत्महत्या गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै रहेको छ भने १८ वर्ष उमेर नकटेका बालकको संख्याभन्दा बालिकाको संख्या धेरै रहेको छ ।
प्रदेशगत रूपमा हेर्दा गत आर्थिक वर्ष २०८२/०८३ मा आत्महत्या गर्नेको संख्या कोशी प्रदेशमा सर्वाधिक देखिएको छ भने त्यसपछि क्रमशः मधेश प्रदेश, लुम्बिनी प्रदेश, बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, काठमाडौं उपत्यकामा धेरै रहेका छन् भने कर्णाली प्रदेशमा सर्वाधिक कम रहेका छन् । अघिल्लो आव २०८१/८२ मा पनि कोशी प्रदेशमा आत्महत्या गर्नेको संख्या सर्वाधिक रहेको छ भने त्यसपछि क्रमशः लुम्बनी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, काठमाडौं उपत्यका र कर्णाली प्रदेश रहेको छ ।
गत आर्थिक वर्षमा कोशी प्रदेशमा मात्रै १ हजार ५७९ जनाले आत्महत्या गरेका छन् जसमा पुरुष १ हजार ११ जना, महिला ३४२ जना, बालक ५६ जना र बालिका ८० जना रहेका छन् । समीक्षा अवधीमा मधेश प्रदेशमा कुल १ हजार ३४५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा पुरुष ४५६ जना, महिला ५२५ जना, बालक ६१ जना र बालिका ३०३ जना रहेका छन् । गत आवमा मधेश प्रदेशमा पुरुषको भन्दा महिलाको आत्महत्या गर्नेको संख्या धेरै रहेको तथ्यांकले देखाएको छ । तराईमा दाइजो प्रथा पनि आत्महत्याको एउटा मुख्य कारण रहेको बताइन्छ ।
त्यसैगरी गत आवमा लुम्बिनीमा १ हजार ३४१ जनाले आत्महत्या गरेका छन् जसमा ७३० जना पुरुष, ६४६ जना महिला, ४० जना बालक र १०७ जना बालिका रहेका छन् । यता बागमती प्रदेशमा ८५२ जनाले आत्महत्या गरेकामा ५१३ जना पुरुष, २६४ जना महिला, २४ जना बालक र ५१ जना बालिका रहेका छन् । त्यस्तै गत आवमा सुदूरपश्चिम प्रदेशमा ६१४ जनाले आत्महत्या गरेका छन् जसमध्ये पुरुष मात्रै ३१३ जना रहेका छन् भने महिला १८६ जना रहेका छन् । त्यसैगरी बालक ३१ जना र बालिका ८४ जना रहेको तथ्यांकले देखाएको छ । गण्डकी प्रदेशमा ५८२ जनाले आत्महत्या गरेका छन् जसमा पुरुष ३५४ जना, महिला १७३ जना, बालक २७ जना र बालिका २८ जना रहेका छन् ।
कर्णाली प्रदेशमा तुलनात्मक रूपमा सबैभन्दा कम ३०५ जनाले आत्महत्या गरेका छन् । तथ्यांकअनुसार १४९ जना पुरुष, ८१ जना महिला, ३३ जना बालक र ४२ जना बालिकाले आत्महत्या गरी प्राण त्यागेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशमा १ हजार ४५२ जना, लुम्बिनी प्रदेशमा १ हजार ३०८ जना, मधेश प्रदेशमा १ हजार २६१ जना, बाग्मती प्रदेशमा ८२७ जना, गण्डकी प्रदेशमा ६३१ जना, सुदूरपश्चिम प्रदेशमा ५७९ जना, काठमाडौं उपत्यकामा ५०५ जना र कर्णाली प्रदेशमा ३०३ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्याको सोच आएमा वा मानसिक रूपमा कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा तुरुन्तै सहयोग लिन मनोसामाजिक परामर्शदाताहरुले सुझाव दिने गरेका छन् । यस्तो अवस्थामा राष्ट्रिय आत्महत्या रोकथामको निःशुल्क नम्बर ११६६ मा फोन गरेर आवश्यक परामर्श तथा सहयोग लिन सकिने व्यवस्था रहेको छ ।











