माध्यमिक तहको शिक्षक सेवाको लाइसेन्स आवेदन खुल्यो

१ मंसिर २०८३, मंगलवार ०९:५०

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) का लागि आवेदन खुलाएको छ। आयोगले आइतबार सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट अनलाइन आवेदन माग गरेको हो।

आयोगका अनुसार आगामी मंसिर ७ गतेदेखि अनलाइन आवेदन दिन सकिनेछ। इच्छुक उम्मेदवारले पुस ७ गते राति १२ बजेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले थप दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म आवेदन दिन पाउनेछन्।

अध्यापन अनुमतिपत्रका लागि आवेदन दिँदा उम्मेदवारले नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्र अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ।

इच्छुक उम्मेदवारले आयोगको अनलाइन आवेदन प्रणाली मार्फत दरखास्त दिन सक्नेछन्। अध्यापन अनुमतिपत्रसम्बन्धी योग्यता, आवेदन प्रक्रिया तथा अन्य विस्तृत जानकारी आयोगको आधिकारिक वेबसाइटमा रहेको सूचना तथा विज्ञापन खण्डबाट प्राप्त गर्न सकिने आयोगले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*