बालेन र भारतीय राजदूत दलेलाबीच भेटवार्ता

काठमाडौं । बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा बालेनले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । साथै बालेनले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त गरेका छन् ।
बालेनले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएका छन् । त्यसक्रममा राजदूत दलेलाले बालेनको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन् ।
राजदूत दलेलाले भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिए । भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।











