मलेसिया जाने श्रमिकको रकम हिनामिना प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकसँग सम्बन्धित रकम गैरकानुनी रूपमा संकलन गरी विदेश पठाउने निर्णयमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, मन्त्रालयका पूर्वसचिव तथा विभिन्न पदमा कार्यरत पूर्वकर्मचारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ पनि पक्राउ परेका छन्।
सीआईबीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम अधिकार क्षेत्र नाघेर मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरूको संलग्नता रहेको छ। उक्त कार्यबाट विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुग्नुका साथै संगठित समूहलाई लाभ हुने गरी श्रमिकमाथि ठगी भएको प्रहरीले जनाएको छ।
प्रहरीले यस प्रकरणमा अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ बराबरको रकम गैरकानुनी रूपमा मलेसिया पठाइएको जनाएको छ। उक्त रकम नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौता तथा कानुनी प्रक्रियाविपरीत पठाइएको विज्ञप्तीमा उल्लेख छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। पक्राउका लागि मंसिर २ गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइएको थियो। त्यसपछि काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।











