नेपाल राष्ट्र बैंकले पायो एसियन क्लियरिङ युनियनको नेतृत्व

काठमाडौं । एसियन क्लियरिङ युनियन (एसीयू) को सन् २०२६/२७ का लागि अध्यक्षता नेपालले पाएको छ । नेपाल राष्ट्र बैंकको आयोजनामा काठमाडौंमा सम्पन्न एसीयूको सञ्चालक समितिको ५४औँ बैठकले अध्यक्षता नेपाललाई हस्तान्तरण गरेको हो ।
राष्ट्र बैंकका अनुसार नोभेम्बर १७ मा स्थायी प्राविधिक समितिको बैठक र नोभेम्बर १८ मा सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो । बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नरसहित सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालयका प्रतिनिधिहरू सहभागी थिए ।
अध्यक्षताको जिम्मेवारी ग्रहण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले एसीयूको उद्देश्य प्राप्तिका लागि नेपाल प्रतिबद्ध रहेको बताए । सदस्य राष्ट्रहरूबीच आफ्नै मुद्रा प्रयोग गरी भुक्तानी गर्ने अवधारणाले बाह्य क्षेत्रको स्थायित्व सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । एसीयूको प्रत्येक दुई महिनामा हुने खुद भुक्तानी फर्छ्योट प्रणालीले सदस्य राष्ट्रहरूलाई भुक्तानीका क्रममा आउन सक्ने कठिनाइबाट जोगाउन सुरक्षा कवचको काम गर्ने उनले विश्वास व्यक्त गरे ।
बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्राले निर्बाध र प्रभावकारी सीमापार भुक्तानी तथा फर्छ्योटका लागि एसीयूको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संस्थागत सुदृढीकरण र कार्यसम्पादनलाई निरन्तरता दिन सदस्यता विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
बैठकले एसीयू महासचिवको प्रतिवेदन ग्रहण गर्नुका साथै नोभेम्बर १७ मा सम्पन्न स्थायी प्राविधिक समितिका सिफारिस अनुमोदन गरेको थियो । सदस्य राष्ट्रका सञ्चालक, वैकल्पिक सञ्चालक तथा पर्यवेक्षकहरूले आ–आफ्नो देशको संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा ‘डिजिटल अर्थतन्त्र र सीमापार क्षेत्रीय सहकार्यको मार्गचित्र’ विषयमा समेत छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ । समितिको आगामी बैठक सन् २०२७ जुनमा म्यानमारको राजधानी नेपिडोमा आयोजना गर्ने निर्णयसमेत भएको छ ।
बैठकको समापन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेलले गरेका थिए । समापनपछि आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एसीयूले पाँच दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गरे । उनले विश्वव्यापी आर्थिक तथा भूराजनीतिक अनिश्चितताबाट सिर्जित चुनौती सामना गर्न संस्थागत पारदर्शिता र आपसी विश्वास आवश्यक रहेको बताए ।
सन् १९७४ मा स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा रहेको छ । अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले स्थापना भएको यस युनियनमा बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलङ्काका केन्द्रीय बैंक आबद्ध छन् ।











